उत्पादन बढेपछि प्राधिकरणले फेरि सुरु गर्‍यो भारतमा बिजुली निर्यात



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतलाई विद्युत निर्यात गर्न थालेको छ।

पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढेकोले शनिबार रातिबाट भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताए।

शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए ।

केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत मिलेको छ ।

नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत् उत्पादन भइरहेको प्रवक्ता शिल्पकारले जानकारी दिए ।

अहिले पिक समयमा १९५० मेगावाट विद्युत्‌को माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ ।

प्राधिकरणले शनिबार रातिदेखि भारतको इनर्जी एक्सचेन्जमार्फत प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्न थालेको हो। राति र बिहानको समयमा आन्तरिक खपत कम हुने भएकाले सो समयमा भारतमा निर्यात गर्न थालिएको हो। शनिबार राति १२ बजेदेखि सुरु गरिएको निर्यात अन्तर्गत शनिबार २०० मेगावाट, आइतवार १५० मेगावाट र सोमवार १७० मेगावाटसम्मको बिजुली भारत पठाइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  ५ : ३३ बजे