झापा । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड(१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ। सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए।
‘क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम सञ्चालन गर्न र अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ’ उनले भने। प्रमुख बाराकोटीले संक्रमणको सम्भावित जोखमलाई ध्यानमा राख्दै भारतलगायत कोभिड(१९ को प्रकोप देखिएका क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई नाकामा स्वास्थ्यकर्मीद्वारा जाँच गरिने बताएका छन्।
उच्च जोखिममा रहेकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको उनले बताए। स्वास्थ्य कार्यालय संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाडमा नजानेलगायत सावधानीका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ। रासस