नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद, करोडौँ जरिवाना र बिगो सजाय तोकियो



काठमाडौँ – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा सजाय तोकिएको छ।

विशेष अदालतले असार ७ गते दोषी ठहर भएका बस्नेतलाई सोमबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा छुट्टाछुट्टै सजाय निर्धारण गरेको हो।

मेयर बस्नेतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको विशेषले ठहर गरेको थियो। अदालतले लिने दिने दुवैलाई सजायको भागिदार बनाएको छ।

सामेबार भएको सजाय निर्धारणमा दामासाहीले दुई करोड ३० लाख ६१ हजार पाँच सय आठ रुपैयाँ जरिवाना हुने, बिगोको दामासाहीले चारै जना प्रतिवादीहरुबाट जनही बिगो बराबरको रकम जफत हुने सजाय भएको छ। विशेषले बस्नेत र कँडेललाई जनही ८र८ वर्ष कैद सजाय गरेको छ।

नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रहेर भ्रष्टाचार गरेको अभियोगमा थप तीन महिना कैद भएको छ।

यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर भएको थियो। जसमा बस्नेतलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ। सम्पत्ति शुद्धीकरणमा भने मेयर बस्नेतलाई मात्र दोषी ठहर गरेको थियो।

बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिवाना हुने र सम्पत्ति जफत हुने भएको छ। त्यस्तै, राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरण कसूरमा थप १० प्रतिशत सजाय हुँदा कैदतर्फ थप ३ महिना १८ दिन र जरिवानातर्फ दुई करोड ६२ लाख ५४ भएको छ।

त्यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार बस्नेतबाट एक करोड पाँच लाख एक हजार असुल हुने भएको छ। पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजु प्रसाद कँडेलबाट ९ लाख २२ हजार क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र कँडेलविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ८ : ०७ बजे