त्रिवि क्रिकेट मैदानको निर्माण ढिलो  : ठेकेदार कम्पनीलाई दैनिक ४ लाख ८३ हजार जरिवाना



काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनाउने र फ्लडलाइट जडान गर्ने काम तोकिएको समयमा नसक्ने ठेकेदार कम्पनीले दैनिक ४ लाखभन्दा बढी जरिमाना तिर्न थालेका छन्। तोकिएको समयमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार हर्जना लगाइएको सहरी विकास मन्त्रालयले जानकारी दिएको हो।

सम्झौताअनुसार समयमा काम नसकिए ठेकेदारले कुल ठेक्का रकमको ०.०५ प्रतिशत रकम दैनिक हर्जना तिर्नुपर्छ। यस्तो हर्जना मात्र दैनिक ४ लाख ८३ हजारभन्दा बढी हुन आउँछ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी ९जेभी० र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए। दुवै कम्पनीले असार ३० गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए। तर उक्त समयमा दुवै कम्पनीले काम सम्पन्न गर्न नसकेपछि हर्जना तिर्न बाध्य भएका हुन्।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख चक्रवर्ति कण्ठले असार ३१ गतेदेखि नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लगाइएको जानकारी दिए। दुवै निर्माण कम्पनीले गरी अब दैनिक ४ लाख ८३ हजार १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

‘असार ३० गते नै निर्माण कम्पनीहरुलाई पूर्वनिर्धारित क्षतिपूर्ति ९हर्जना०बारे जानकारी गराइसकेका छौं। मंगलवारदेखि उहाँहरु दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ। अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने।

यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था छ। सो अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था छ।

दुवै कम्पनीले अब १ महिनामा काम सक्ने प्रतिबद्धता जनाएका छन्। ४ हजार कुर्सी फिटिङ भइसकेको छ। ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ। प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ। फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

प्रकाशित मिति : श्रावण १, २०८२ बिहिबार  १२ : ०४ बजे