काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको चितवन शाखाले लोडसेडिङको तालिका सार्वजनिक गरेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्। सोमवार बिहानै शाक्य भरतपुर पुगेका हुन्।
विद्युत प्राधिकरणको चनौली सबस्टेशनले तीन फिडरमा लोडसेडिङको सूचना निकालेको छ। सबस्टेसनले दिनमा ६ घण्टा लोडसेडिङ गर्ने जानकारी गराएको छ। चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना सुरु भएको छ।
शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्नेछन्।
हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ। हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए।
चितवनमा पछिल्लो समयमा गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या पनि समस्या छ।
टाँडी तथा माडीका विद्युत स्टेशनमा त्यहाँका स्थानीयहरुले विरोध गर्दै आएका थिए। चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। बढी मात्रामा बिजुली खपत हुन थालेको भन्दै प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको प्राधिकरणको भनाइ छ। चितवनमा साउन ११ देखि लागु हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चौबीसै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौती पूरा गर्न नसकिएको बताएका छन्।
आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए।
उनले भने, ‘चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ। तर यसमा दबाब, चुनौतीहरु छन्। हामीलाई आवश्यक पर्नेजति विद्युत आफैँ उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ।’
उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘चुनौतीहरु त हरेक क्षेत्रमा देखिएका छन्। यो क्षेत्रमा पनि छ। तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ।’










