सांसदहरुको प्रश्नः इमान्दारिताका साथ भन्नुस्, थपिएको समयमै संसद भवनको काम सकिन्छ ?



काठमाडौं । नयाँ संसद भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरुले आपत्ति जनाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो आपत्ति जनाएका हुन् ।

थपिएको म्यादमा पनि जुलाई महिनामा लक्ष्यअनुसार काम हुन नसकेको सांसदहरुको गुनासो छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ ? भन्नेकुरा बन्दै गरेको संसद भवनको उदाहरणबाट स्पष्ट हुने बताईन ।

उनिले लिएको लक्ष्यअनुसार थपिएको म्यादमा पनि कार्यप्रगति हुन नसकेको बताईन । म्याद थप गर्दा विलम्व शुल्क किन लागेन भन्दै प्रश्न गरिन् ।

उनले भनिन् ‘हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भन्दा संसद भवन हेर्नुस् भन्ने गर्दछन् । यसमा हामी गम्भीर बन्नुपर्छ । वित्तीय प्रगतिको विवरण पेश गर्दा ०.८९ प्रतिशतले हामीले यो समयसीमाभित्र सक्छौं  भन्नेमा संशय त स्पष्ट देखियो । हामीलाई संशय नहुने गरी बताउनुपर्छ । कागजमा दिएको जनशक्ति परिचालन, प्रगति विवरणहरु के छ ? हामी पटक पटक निरीक्षण गर्न जाँदा त्यहाँ देखिएको कामदारहरुको संख्या असाध्यै कम छ । म्याद थपमा किन विलम्व शुल्क लगाएनौँ ?’

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए ।

उनले नयाँ संसद भवनको म्याद पटक पटक थप गरेपनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थालाय गिज्याउने जिकिर गरे । -न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार  १ : २५ बजे