नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गरेकी छिन् ।
राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हून् ।
उनले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताईन ।
वंशजको नागरिकतालाई स्पष्ट पार्नुका साथै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने प्रावधान संविधानको मर्म र भावनाअनुसार व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनिन् ‘वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नागरिकले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको मर्म र भावनाअनुसार नयाँ विधेयक बनाएर व्यवस्था गर्ने या विधेयकले नै संशोधन गर्ने भन्ने विषयमा यो समिति स्पष्ट हुनुपर्छ । लामो समयदेखि यो विषयमा अस्पष्टता हुँदा एक किसिमको अन्यौलता र प्रवासी नेपालीका बिचमा निराशा र आक्रोश रहेको पाइन्छ । त्यसकारण यस विषयमा छिटो निष्कर्षमा पुग्न आवश्यक । नागरिकता दुरुपयोग रोक्न तथा नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्थामा समेत सचेत रहनुपर्ने अवस्था छ ।’
उनले नागरिकता दुरुपयोग रोक्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहिन हुनुपर्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहनुपर्नेमा जोड दिईन ।—न्युज एजैन्सी नेपाल









