नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले कुलिङ अफ पिरियड संसदीय छानविन समितिको प्रतिवेदनको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नैतिक र राजनीतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएको उल्लेख गर्दै उनले प्रतिवेदनले किटान गरेका अन्य व्यक्तिहरुमाथि कानूनी कारबाही हुनुपर्ने उनको भनाइ छ ।
सांसद बडूले प्रतिवेदनको पूर्ण कार्यान्वयनको प्रतिक्षामा रहेको बताए ।
उनले भने ‘उहाँले आफू नैतिक र राजनीतिक जिम्मेवारीका हिसाबले राजीनामा दिनु प्रशंसनीय कुरा हो । संसदीय छानविन समितिले तोकिएका सबै व्यक्तिहरुमाथि पनि अब सबैले औंलो ठड्याउलान नि । अब त्यो प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा त हाम्रो संसद सचिवालयलाई सोध्नुपर्यो । त्यस प्रतिवेदनको कार्यान्वयन हाम्रो संसदको सचिवालयले गर्दै होला । र उसले सरकारलाई पनि दिने होला नि । सभापतिलाई नैतिक जिम्मेवारी ठहर्याएको थियो । अरुलाई कानूनी रुपमा कारबाही भनेर आएको छ । अब प्रतिवेदनको कार्यान्वयनको प्रतिक्षामै छु ।’
सञ्चारकर्मीले समिति सभापतिमा तपाईको सम्भावना कति छ ? भनेर सोधेको प्रश्न भने बडूले नकारे । —न्युज एजेन्सी नेपाल










