काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।
उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताए ।
आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरु सबल हुने गरेको बताए ।
नेपालमा अनेक बहानामा विदेशीहरुसहित त्यहाँ रहेका नेपालीहरुलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ । सांसद महतकाअनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवथापनका लागि करारमा विदेशीहरु आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए । त्यसपछि नेपालीहरुले नै चलाए । त्यसरी नै सरकारी निकायहरुमा विदेशीहरु भित्र्याएर कम्पनीहरुलाई माथि उठाउन सकिने उनको भनाई छ ।
पूर्वअर्थमन्त्री महतले भने– ‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरु बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबाँया गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रवन्ध गर्न खोजिरहेका छौँ ।’
महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताए। उनकाअनुसार वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रीन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्वीकार्न उनले प्रश्ताव गरे। –न्युज एजेन्सी नेपाल









