लिपुलेक सीमा विवाद : भारतले भन्यो – नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन



काठमाडौं, ४ भदौ । नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारका विषयमा सहमति भएको विषयमा बोलेपछि भारतीय विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ भनेको थियो ।

नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माणरविस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको परराष्ट्र मन्त्रालयको भनाई छ । नेपालको परराष्ट्रले भनेको छ,“उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको बेहोरा पनि अवगत नै छ।”

नेपालको उक्त भनाइपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आज नेपालले सिमासम्बन्धी विषयमा राखेको धारणाबारे बोलेका छन् । उनले भारत र चीनले लिपुलेक पास हुँदै सिमा व्यापारसम्बन्धी हालै पूनः नाका खोल्नको लागि गरेको सहमतिको विषयमा राखेको धारणालाई नोटमा लिएको भनेका छन् ।

भारत र चीनबीच लिपुलेक हुँदै सिमा व्यापार सन् १९५४ सालबाटै सुरु भएको उनको वक्तव्यमा उल्लेख गरिएको छ । जुन सिमा व्यापार दशकौंसम्म जारी रहेको भनिएको छ । तर, यो सिमा व्यापार कोभिड र अन्य कारणले अवरुद्ध रहेकोमा अहिले दुवै देश पूनः नाका सुरु गर्न सहमत भएको जैसवालको भनाई छ ।

भारतीय विदेश मन्त्रालयले नेपालले भूभागबारे गरेको दाबी न्यायसंगत नभएको भनेको छ । उसले नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नभएको भनेको छ ।

प्रकाशित मिति : भदौ ५, २०८२ बिहिबार  ९ : ५४ बजे