सर्वोच्चका २२ हजार मिसिल जलेर नष्ट, ३ हजार मात्रै सुरक्षित



काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको भवन जलेर नष्ट भए पनि न्यायको दीप ननिभेको बताएका छन्। उनले पालु मुनिबाटै भए पनि न्याय प्रदान गर्ने कामलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले राष्ट्रका तीन प्रमुख अंगहरू– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका– सबै ध्वस्त भएको भन्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए। उनले नेपालभरका सबै अदालतबाट न्यूनतम सेवाहरू सुरु भइसकेको जानकारी दिए।

भदौ २४ गतेको आगजनीबाट सर्वोच्चमा २२ हजार मिसिल जलेर नष्ट भएको मुख्य रजिस्ट्रार पौडेलले बताए । आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्चमा २५ हजार मिसिल रहेकोमा ३ हजार मात्रै सकुशल रहेको जानकारी दिए।

अदातल जले पनि न्यायको दीप भने ननिभेको उनले बताए। उनले जलेका २२ हजार मिसिल नेपाल बार एशोसिएशन र महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्ने जानकारी दिए। यद्यपि, बार र महान्यायाधिवक्ताको कार्यालय पनि प्रदर्शनकारीले जलाएका कारण कति मिसिलमा क्षति पुगेको छ भन्ने तथ्यांक आइसकेको छैन।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पछिल्लो दिनको अराजक गतिविधिका कारण व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका थिए।

सर्वोच्चमा लागेको आगोका कारण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको थियो। जसकारण सर्वोच्चसहित अहिले देशभरका विभिन्न अदालतहरूबाट न्युनतम सेवाहरू प्रदान भैरहेको छ। सर्वोच्चमा गत भदौ २९ गते त्रिपाल टाँगेर इजलास गठन गरी बन्दी प्रत्यक्षीकरण मुद्दासहित न्यनुतम सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : आश्विन ५, २०८२ आइतबार  ६ : ३८ बजे