‘मोन्था’ चक्रवात : बिहीबारदेखि काठमाडौंसहित कोशी र मधेसमा भारी वर्षा, बाढीको उच्च सम्भावना



काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ुमोन्थाुका कारण नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए।उनले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोलानालामा भने तीव्र बहावको सम्भावना रहेको बताए।

मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ ।

उक्त प्रणाली सक्रिय भएसँगै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।

तीन प्रदेशका २६ जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने विभागले जनाएको छ ।

विशेषगरी, वाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ, विभागको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार  ७ : ५४ बजे