१२ भदौ, काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएसँगै नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन भनेका छन् ।
प्रहरीले सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ ।
थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।









