काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेला परेको छ । यस्तै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाढीमा परी अझै चार हजार ९९६ जना सम्पर्कविहीन छन् ।
पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् । केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।









