चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला चार महिनापछि खोलिएको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले कार्यालयको ताला खोलेको हो।

अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एन्फा विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गर्दा पनि बैठक नडाकिएपछि वरिष्ठ उपाध्यक्ष खड्का नेतृत्वको टोलीले कार्यालयको ताला खोलेर छलफल गरेको हो।

छलफलले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ। छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशीलगायत सहभागी थिए।

प्रकाशित मिति : कार्तिक ११, २०८३ बुधबार  २ : १६ बजे