काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको गैरकानूनी कामले हद नाघेको आरोप लगाएका छन् ।
पार्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हून् । उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताए ।
प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाई छ ।उनले नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरु छुटेपनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सिमित गर्न नहुने बताए। यसले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो ।
उनले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे । सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिप्रति नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत हुन उनल आग्रह पनि गरे।
उनले भने, ‘जे जस्ता घटनाहरु भएका छन्, त्यसले हामीलाई गम्भीर र चिन्तित बनाएको छ । हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं । प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि नयाँ परिवेशमा नयाँ ढङ्गले हुहोस् भन्ने आम नागरिकहरुको अपेक्षा छ । हामी त्यही अनुरुपको भूमिका गर्छौं। जहाँ साथ दिनुपर्ने दिन्छौं, जहाँ सहयोग गर्नुपर्ने गर्छौं । तर जहाँ डेमोक्रेसीको कुरा हुन्छ, लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, जनताको मौलिक हकको कुरा हुन्छ र यी विषयहरुका सन्दर्भमा भने सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं । हामी प्रश्न गर्छौं । हामी हामी उपयुक्त नीतिको पैरवी गर्छौं। र हामी आवश्यकता पर्यो भने प्रतिवाद र प्रतिरोध पनि गर्छौ ।’










