काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै काँग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्रीलाई किस्ताबन्दीमा सार्वजनिक गर्नुले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् ।
उनले सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने भन्नेकुरा सरकारकै प्रभावमा हुनसक्ने भन्दै यस्ता सामग्रीका आधारमा पार्टी नेतृत्वमाथि आरोप लगाउनु उचित नभएको जिकिर गरे ।
शर्माले नेपालमा पत्रकार तथा सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको अवस्था बढ्दै गएको भन्दै सञ्चारकर्मीको प्रेस स्वतन्त्रता र सुरक्षामाथि प्रश्न उठाए ।
उनले पत्रकारहरूले आफ्ना विमति र असन्तुष्टि निर्भयतापूर्वक व्यक्त गर्न सक्ने वातावरण हुनुपर्ने बताए।
उनले पत्रकारहरूलाई प्रश्न गर्दै भने, ‘पत्रकार साथीहरू नै असुरक्षित भइरहेको यो बेला प्रतिपक्षका अगाडि होस् वा सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीज्यूका सामुन्ने उभिँदा होस्, आफ्नो विमति खरो ढंगले राख्न सक्ने वातावरण हुनुपर्छ । मैले तपाईंहरूमध्ये कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले सबैभन्दा पहिले तपाईंहरू सुरक्षित हुनुहुन्छ रु’
शर्माले सञ्चारमाध्यममाथि भएका घटनाबारे पत्रकार तथा मिडिया हाउसले निरन्तर प्रश्न उठाउनुपर्ने भए पनि पछिल्लो समय त्यसबारे पर्याप्त फलोअप नभएको टिप्पणी गरे ।










