जनकपुर । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसैक्रममा रेलमार्गको क्षमता परीक्षण गर्न भारतबाट १७ बोगीको यात्रुवाहक रेल बिहीबार जनकपुरधाम आइपुगेको छ ।
विगत एक महिनादेखि रेल सञ्चालनको तयारीका लागि नेपाल र भारतका रेल विभागका कर्मचारीहरूले पटक–पटक अनुगमन तथा छलफल गर्दै आएका छन् ।
नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार हाल सञ्चालनमा रहेको रेलमार्गमा ठूलो आकार र बढी यात्रु क्षमता भएको रेल चलाउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षणका लागि भारतीय ईस्ट सेन्ट्रल रेल्वेले रेल पठाएको हो ।
परीक्षणका लागि आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारी कुर्था स्टेसनसम्म आएका थिए । उक्त रेल बिहीबार नै भारत फर्किने र परीक्षण प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाइने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।
अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र भए पनि सेवा कहिलेदेखि सुरु हुने भन्ने मिति भने निश्चित भइनसकेको उनले बताए । दुवै देशका रेल विभागबीच सम्झौतासहित केही प्रक्रिया अझै पूरा हुन बाँकी रहेको उनको भनाइ छ ।
यसैगरी, नेपालतर्फका रेल्वे स्टेसन तथा हल्टहरूको मर्मतसम्भार र सरसफाइको काम भइरहेको पराजुलीले जानकारी दिए ।
प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहले अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ ।










