ख्वप ९भक्तपुर०, कात्तिक १९ गते । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताए। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।
बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । “अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ? ”
सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्यासका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताईन् ।
“ग्यास पसलका साहुजीलाई जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन”, उनले भनिन्, “हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो रु”
सरकारी निकाय र सामाजिक सञ्जालमा ग्यासको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्यास पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्यास आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ ।
दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्यास नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्यास सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्यासको आपूर्ति सहज भइसकेको दाबी गरे । कुनै एउटा कम्पनीको ग्यास नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए ।
दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिए । दसैँपछि ग्यासको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबिच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ ।
आपूर्ति सहज भएको हो भने ग्यासको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्यासको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।










