काठमाडौँ। नेपालीहरूको महान् चाड तिहार, नेपाल संवत् तथा छठपर्वलाई स्वच्छ, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशैभर ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ। चाडपर्वको अवसरमा हुनसक्ने सम्भावित अपराध, दुर्घटना र अवाञ्छित गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्दै नागरिकलाई उच्च सुरक्षाको अनुभूति दिलाउन प्रहरीले विशेष रणनीति अपनाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा चोरी, लुटपाट, पाकेटमारी, जुवातास, अवैध सट्टेबाजी, घरेलु हिंसा तथा व्यक्तिगत झैझगडाजस्ता घटना बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यकताअनुसार थप सुरक्षा बल परिचालन गरिएको छ। विशेष गरी मानिसको आवतजावत बढी हुने सार्वजनिक यातायातका साधन, व्यापारिक केन्द्र, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार विन्दुहरूमा सादा पोसाकका प्रहरीसहित निगरानी र चेकिङ कार्यलाई तीव्र पारिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, दीपावलीका विद्युतीय बत्ती तथा पटकाका कारण हुनसक्ने आगलागी र अन्य दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई चौबीसै घण्टा ुस्ट्यान्ड बाइु ९तयारी० अवस्थामा राखिएको जानकारी दिए।
यस्तै, तिहारको सांस्कृतिक पक्षका रूपमा रहेको देउसी(भैलो कार्यक्रमलाई स्थानीय प्रशासनले तोकेको निश्चित समयभित्र मात्र मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। पटकालगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सीमानाका तथा सहरका मुख्य नाकाहरूमा विशेष सुराकी टोली र चेकिङ पोष्टहरू खटाइएको प्रहरीले जनाएको छ।
नागरिकलाई सचेत गराउन प्रहरीले स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक ठाउँमा होहल्ला नगर्न र अनुशासित रूपमा पर्व मनाउन निरन्तर सूचना प्रवाह गरिरहेको छ। जुवातास र गैरकानुनी कारोबार हुनसक्ने सम्भावित गोप्य स्थलहरूमा सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ।
चाडपर्वका अवसरमा आयोजना गरिने र्याली, जुलुस, सांस्कृतिक कार्यक्रम तथा शोभायात्राका क्रममा दुई समुदाय वा समूहबीच हुनसक्ने विवाद र झडपको जोखिम न्यूनीकरण गर्न सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ। राति अबेरसम्म चर्को आवाजमा डिजे ९म्व्० तथा साउन्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने जस्ता कार्यबाट वृद्धवृद्धा, बालबालिका र बिरामीलाई प्रत्यक्ष असर पर्ने भएकाले यस्ता गतिविधिमाथि कडा निगरानी राखिने प्रवक्ता काफ्लेले बताए।
त्यस्तै, मेला, पर्व र सार्वजनिक स्थलहरूमा प्लास्टिक, फूलमाला तथा पूजा सामग्रीको अव्यवस्थित विसर्जनले जल तथा स्थल प्रदूषण नहोस् भन्नका लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी सचेतनामूलक कार्यहरू अघि बढाइएको छ।
प्रहरीले तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सभ्य र सुरक्षित तरिकाले मनाउन आम नागरिकमा हार्दिक अपिल गरेको छ। पटका तथा आतिशबाजीको प्रयोगबाट ठुलो आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग तथा धनजनको क्षति हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। कुनै पनि स्थानमा आगलागी, विस्फोट वा दुर्घटना भएमा वा अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार भएको पाइएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको निस्शुल्क हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रहरीले आह्वान गरेको छ।










