काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएसँगै रायमाझी रिहा भएका हुन् । उनले कारागारमा तीन वर्ष ६ महिना कैद भुक्तान गरिसकेका थिए ।
रायमाझी २०८० वैशाख ३१ गतेदेखि डिल्लीबजार कारागारमा थुनामा थिए । ६५ वर्ष पुगेपछि ज्येष्ठ नागरिकका रूपमा कैद छुटको सुविधा माग गर्दै उनले काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनी गत कात्तिक २६ गते ६५ वर्ष पुगेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले गत कात्तिक १३ गते ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार उनलाई कैद छुटको सुविधा दिने निर्णय गरेको थियो ।
उक्त ऐनको दफा १२ मा ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई उमेरअनुसार कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २०८३ असार २३ गते रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय सुनाएको थियो । उनी ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराधमा दोषी ठहर भएका थिए ।
अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको थियो । एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको थियो ।
कैद सजायमा कानुनबमोजिम छुट पाए पनि अदालतले तोकेको जरिबाना भने उनले तिर्नुपर्नेछ ।
के हो नक्कली भुटानी शरणार्थी प्रकरण रु
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठूलो रकम ठगी गरिएको प्रकरणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका रूपमा चिनिन्छ । यस प्रकरणमा राजनीतिक तथा प्रशासनिक क्षेत्रका उच्च पदस्थ व्यक्ति र बिचौलियाहरूको संलग्नता रहेको अभियोग लगाइएको थियो ।
काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नौ जनालाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
दोषी ठहर हुने अन्य व्यक्तिहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा गिरोहका सदस्य केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा रहेका थिए ।
अदालतले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पुर्याएको ठहर गरेको थियो ।
यसै प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि राज्यविरुद्धको कसुरमा मतियारका रूपमा दोषी ठहर गरिएको थियो ।
यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा कैद छुट पाएर रिहा भएका हुन् ।










