विराटनगरसँग पराजित भएसँगै पोखरा बाहिरियो



काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न भएको खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएसँगै पोखराको प्रतियोगिता यात्रा समूह चरणमै टुंगिएको हो।

जारी प्रतियोगिता पोखरा २ अंकसहित तालिकाको पुछारमा छ। अब लिग चरणको अन्तिम खेल जिते पनि पोखरा शीर्ष चारमा पुग्न सक्ने छैन।

यस रोमाञ्चक जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगरले भने प्लेअफको सम्भावना बलियो बनाएको छ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ५ ओभरमा जितका लागि ४९ रन आवश्यक रहेको कठिन परिस्थितिमा इसुरु उडाना र शेहान जयसूर्याले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई जित दिलाए। उडानाले विस्फोटक प्रदर्शन गर्दै १२ बलमा ४ चौका र १ छक्काको मद्दतले अविजित २५ रन जोडे। जयसूर्या १४ बलमा १७ रन बनाएर अविजित रहे। यी दुईले अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्दै खेल विराटनगरको पक्षमा पारे।

यसअघि विराटनगरका लागि बसिर अहमदले ३९ बलमा ३७ रन र विकेटकिपर ब्याटर लोकेश बमले २७ बलमा ३३ रनको महत्वपूर्ण योगदान दिए। ओपनर इमरान शेखले १० र एन्जेलो म्याथ्युजले ८ रन बनाउँदा चरिथ असालंका र प्रतिश जिसी शून्य रनमै आउट भए।

पोखराका बलर रमेश मेन्डिस र कुशल भुर्तेलले २(२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। त्यस्तै विपिन खत्री र धनञ्जय लक्षणले १(१ विकेट हात पारे।

त्यसअघि ब्याटिङ गरेको पोखरा १७।५ ओभरमा १३२ रनमै अलआउट भएको थियो। पोखराका लागि युवराज साम्राले एक्लै लड्दै ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतले ८४ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटर चल्न सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए।

प्रकाशित मिति : कार्तिक २६, २०८३ बिहिबार  ५ : ३८ बजे