ढाकाटोपीको बिक्री बढ्यो,भाइमसलाको मूल्य बढेपछि तिहारको कारोबार प्रभावित



काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा भाइमसलाको कारोबार अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन् । भाइमसलामा प्रयोग हुने विभिन्न सामग्रीको मूल्य बढेपछि उपभोक्ताले खरिद परिमाण घटाउँदा कारोबार प्रभावित भएको उनीहरूको भनाइ छ ।

भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल बजारमा भित्रिएसँगै केही सामग्रीको मूल्य बढेको हो । विशेषगरी पिस्ता र बदामको मूल्य गत वर्षको तुलनामा वृद्धि भएको उनले बताए ।

गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको र त्यसको प्रभाव मूल्यमा परेको उनको भनाइ छ । नरिवल र ओखरको मूल्य प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म बढेको उनले जानकारी दिए ।

मूल्यवृद्धिका कारण उपभोक्ताको खरिद क्षमतामा असर परेको बज्राचार्यले बताए । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले अहिले आधा किलो र आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनको अनुभव छ ।

उनले मूल्य बढेकै कारण उपभोक्ताले आवश्यकताअनुसार मात्र भाइमसला खरिद गर्न थालेको बताए ।

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्यवृद्धिका कारण खरिद परिमाण घटे पनि परम्परा कायम राख्न उपभोक्ताले आफ्नो क्षमताअनुसार भाइमसला खरिद गरिरहेका छन् ।

ढाकाटोपीको बिक्री भने उत्साहजनक
भाइमसलाको कारोबार अपेक्षाअनुसार हुन नसके पनि तिहारमा ढाकाटोपीको बिक्री भने उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन् ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिएर भाइटीका गर्ने परम्परा रहेकाले यसको माग बढेको हो । व्यवसायीहरूका अनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको बिक्री दुईदेखि तीन गुणासम्म वृद्धि भएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०८३ मंगलबार  ६ : ०१ बजे