एनपीएलमा आज दुई खेल, काठमाडौं र सुदूरपश्चिमबीच शीर्ष दुईका लागि भिडन्त



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । समान आठ अंक जोड्दै अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका काठमाडौं र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा शीर्ष स्थानको होड र प्लेअफ समीकरणका दृष्टिले महत्त्वपूर्ण छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौंले त्यसयता उत्कृष्ट पुनरागमन गरेको छ । पाँच खेल खेलेको काठमाडौंले चार जित र एक हारसहित आठ अंक जोडेको छ । उसले कर्णाली याक्सलाई चार विकेट, विराटनगर किङ्सलाई नौ विकेट, लुम्बिनी लायन्सलाई ३६ रन र पछिल्लो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गरेको थियो ।

काठमाडौंको नेट रनरेट १.१६८ रहेको छ । एक खेल कम खेलेर पनि समान अंक जोडेको काठमाडौं सुदूरपश्चिमभन्दा बलियो स्थितिमा छ । आजको खेल जिते काठमाडौंलाई शीर्ष दुईमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो हुनेछ ।

यता, दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स भने यस संस्करणमा उतारचढावपूर्ण प्रदर्शनका बाबजुद लय समात्ने प्रयासमा छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगरसँग ३५ रनले पराजित भए पनि त्यसयता चितवनलाई पाँच विकेट, कर्णालीलाई ३९ रन र जनकपुरलाई २७ रनले हराउँदै लगातार तीन जित निकालेको थियो ।

छ खेलबाट चार जित र दुई हारसहित आठ अंक जोडेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफमा आफ्नो स्थिति थप बलियो बनाउन चाहन्छ ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको मध्यभागमा रहेका दुवै टोलीका लागि यो खेल प्लेअफ यात्राको निर्णायक मोड बन्न सक्छ ।

सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले प्रतियोगितामा अपेक्षाकृत स्थिर प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा विराटनगर किङ्सलाई आठ रनले हराएको चितवनले वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । त्यसपछि सुदूरपश्चिमसँग पाँच विकेटले पराजित भए पनि पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो । पछिल्लो खेलमा भने काठमाडौंसँग १० रनले पराजित भयो ।

पाँच खेलबाट पाँच अंक जोडेको चितवनलाई प्लेअफ सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । त्यसैले जनकपुरविरुद्धको खेल उसका लागि अंक जोड्ने मात्र नभई प्रतियोगितामा आफ्नो यात्रा कायम राख्ने अवसर पनि हुनेछ ।

उता, जनकपुर बोल्ट्सको अवस्था पनि सहज छैन । कर्णाली याक्ससँग १९ रनले पराजित हुँदै प्रतियोगिता सुरु गरेको जनकपुरले त्यसपछिका दुई खेलमा काठमाडौंलाई आठ विकेट र पोखरालाई नौ रनले हराउँदै राम्रो पुनरागमन गरेको थियो । तर, पछिल्ला तीन खेलमा भने टोलीले लगातार हार बेहोरेको छ ।

विराटनगर किङ्ससँग अन्तिम बलसम्म पुगेको खेलमा दुई रनले पराजित हुनु जनकपुरका लागि महँगो साबित भएको छ । त्यसपछि लुम्बिनी लायन्ससँग १६ रन र सुदूरपश्चिमसँग २७ रनले पराजित भएपछि टोली प्लेअफ समीकरणमा कमजोर अवस्थामा पुगेको हो ।

पाँच खेलबाट चार अंक जोडेको जनकपुरलाई आजको जितले ६ अंकमा पुर्‍याउनेछ । तर, मध्यतालिकामा रहेका अन्य टोलीले अझै खेल खेल्न बाँकी रहेकाले जनकपुरलाई आफ्नो जित मात्र पर्याप्त हुने छैन । प्लेअफमा पुग्न उसले अन्य टोलीको नतिजामा समेत निर्भर रहनुपर्नेछ ।

यसैबीच, हिजो (बिहीबार)भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको अन्तिम चरणका खेलहरू नजिकिँदै गर्दा आजका दुवै खेलले प्लेअफ समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०८३ शुक्रबार  १० : २८ बजे