काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् ।
शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् ।
उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको दाबी गरे ।
जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ ।










