आज एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम खेल्दै, शनिवार फाइनल



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ ।

लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् । सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो ।

सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ ।

यस्तै हार्ने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ । इलिमिनेटरमा भोलि काठमाडौं गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ ।

यसपालि विराटनगर किङ्ग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिए । तेस्रो संस्करणको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रकाशित मिति : मंसिर १, २०८३ मंगलबार  १० : १२ बजे