काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
सरकारको प्रेसविरोधी रवैया, समाचार कक्षमै प्रहरी प्रवेश गरी गरिएको धरपकड र प्रेस काउन्सिल ऐनसम्बन्धी विवादास्पद अध्यादेश ल्याउने प्रयासविरुद्ध महासंघ आन्दोलित भएको हो ।
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारगृहबाट पत्रकारको जबरजस्ती निष्कासन, श्रम शोषण र लोककल्याणकारी विज्ञापनको रकम रोक्का गरिएको प्रति कडा आपत्ति जनाइएको छ । सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको विषयलाई पनि महासंघले मुख्य एजेन्डा बनाएको छ ।
घोषित कार्यक्रमअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई र मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र बुझाउनेछ । यस्तै, मंसिर ५ र ६ गते पेशागत सञ्जाल (पापड) तथा मंसिर ७ गते जिल्ला शाखामार्फत सञ्चारसम्बद्ध संघसंस्थासँग बृहत् छलफल गरी दबाब सिर्जना गर्ने महासंघको तयारी छ ।










