काठमाडौं, मंसिर १ । सिन्धुलीको गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो २ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको माइक्रोबसमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो । अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।










