काठमाडौं। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि संस्थाको अध्यक्षको वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारि हस्तान्तरण गरेका हुन्।
वरिष्ठ अधिवक्ता सीताराम केसी पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । केसी कांग्रेसभित्र कानुन व्यवसायी तथा पेशागत क्षेत्रबाट लामो समयदेखि सक्रिय रहदै आएका थिए।
‘एक पद, एक व्यक्ति’ को मान्यतालाई आत्मसात् गर्दै अध्यक्ष केसीले संस्थागत जिम्मेवारी हस्तान्तरण गर्दा सकारात्मक र लोकतान्त्रिक सन्देश प्रवाह गरेको डिएलएमा आबध्द कानुन व्यवसाायीहरुले बताएका छन् ।
अध्यक्ष केसीले नयाँ राजनीतिक जिम्मेवारी प्राप्त गरेसँगै संस्थाको नेतृत्व सञ्चालनमा सहजता र निरन्तरता कायम राख्न वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु प्रशंसनीय भएको काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष तथा अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. विमल)ले बताएका छन् । यसले नेतृत्व विकास, जिम्मेवारीबोध र विधिको सम्मान गर्ने संस्कारलाई थप बलियो बनाउने उनको भनाइ छ ।।










