नुवाकोट । नुवाकोटका प्रभावित परिवारलाई २ हजार थान स्टिल दराज (अल्मिरा) वितरण गरिएको छ । ‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरायसी सामग्री गुमाएका नुवाकोटका प्रभावित परिवारलाई उक्त सामग्री वितरण गरिएको हो ।
नेपाल सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीको मार्गदर्शनमा सञ्चालित यस पहलले प्रभावित परिवारलाई व्यावहारिक घरेलु सहयोग उपलब्ध गराउने उद्देश्य राखेको जनाइएको छ ।
दैनिक जीवनका आवश्यक सामग्री सुरक्षित राख्दै प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना गर्ने बृहत् प्रयासको हिस्साका रूपमा यो सहयोग उपलब्ध गराइएको जनाइएको छ ।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपन (सस्टेनेबिलिटी) अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्री श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक श्री राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष श्री सौरभ राज थापालिया,विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत टाटा, सिप्रदी र स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।
कार्यक्रममा टाटा सन्सका चिफ सस्टेनबिलिटी अफिसर थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित नभई प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्न र सुरक्षित भविष्यतर्फ अघि बढाउन केन्द्रित हुनुपर्ने बताए ।
उनले भने,“टाटा समूहमा हामी विपद् प्रतिकार्य भनेको तत्काल राहतमा मात्र सीमित हुनुहुँदैन भन्ने विश्वास गर्छौं। प्रभावित परिवारले आफ्नो आत्मसम्मान पुनःस्थापित गर्न, जीवनलाई फेरि सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्यतर्फ अघि बढ्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। ‘एक टाटा नेपाल विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छन्।”
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालले कठिन परिस्थितिमा रहेका समुदायको साथमा उभिँदै समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा आफूहरू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले भने,“सिप्रदियन सहायता संस्थामा हामी समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित हुँदैन भन्ने मान्यता राख्छौं। हाम्रो उद्देश्य वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म अर्थपूर्ण सहयोग पुर्याउनु हो। नुवाकोटमा सञ्चालित यो पहल कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने हाम्रो निरन्तर प्रतिबद्धताको उदाहरण हो। अझ समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान पुर्याउन हामी निरन्तर प्रतिबद्ध छौं।”










