जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपणियताको सपथ ग्रहण गरेका छन् ।
आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने बताए ।
उनले सहमतिको आधारमा मन्त्रिपरिषद विस्तार गर्ने जानकारी दिए । उनले भोलिदेखि मन्त्रिपरिषद् विस्तारको कार्य अगाडि बढाउने बताए ।
हिजो प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।










