काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भारतले उपलब्ध गराउने ऋण भारतीय रुपैयाँमै लिन र भारतीय रुपैयाँमै भुक्तानी गर्न सकिने विकल्प खुला भएको जानकारी दिए।
उनका अनुसार १ खर्ब ८४ अर्ब रुपैयाँको लाइन अफ क्रेडिट एकैपटक लिएर राख्ने नभई आवश्यकता र विकास निर्माणको प्रगतिअनुसार उपयोग गरिनेछ।
“हामीले काम गर्दै र निर्माण कार्य अगाडि बढाउँदै जाने हो भने वित्तीय स्रोतको अभाव नहोस् भन्ने प्रत्याभूति हो यो,” उनले भने ।
वाग्लेले विगतमा अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरको उतारचढावले नेपालको ऋण दायित्व बढाएको उल्लेख गरे। डलरको मूल्य ५० रुपैयाँबाट १५० रुपैयाँसम्म पुग्दा ऋणको भारसमेत अत्यधिक बढेको उनको भनाइ छ।
नेपाल र भारतबीच नेपाली रुपैयाँ तथा भारतीय रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारुमै ऋण लिएर भारुमै भुक्तानी गर्दा विनिमय जोखिम हट्ने उनले बताए।
डलरमा १।५ देखि २।५ प्रतिशत ब्याजदरमा ऋण लिँदा विनिमय जोखिम रहने भए पनि भारुमा मुद्रास्फीतिको हाराहारीमा ब्याजदर कायम भए जोखिम कम हुने उनको तर्क छ।
नेपालले डलर वा भारुमध्ये जुनसुकै मुद्रामा ऋण लिन सक्ने विकल्प खुला रहेको पनि उनले स्पष्ट पारे। ऋणको ब्याजदर, भुक्तानी अवधि, ग्रेस पिरियड र मुद्रा छनोटलगायतका विषय प्राविधिक वार्ताबाट टुंगो लगाइनेछ।
अर्थमन्त्रीका अनुसार नेपालको दीर्घकालीन ऊर्जा क्षेत्रको आवश्यकता १०० अर्ब डलरभन्दा बढी छ। ऊर्जा मन्त्रालयको आग्रहमा तत्काल आवश्यक परे उपयोग गर्न सकिने गरी १ अर्ब डलर बराबरको लाइन अफ क्रेडिटसमेत सुनिश्चित गरिएको छ।
ऊर्जा तथा प्रसारण लाइनजस्ता क्षेत्रमा यस्तो ऋण सुविधा प्रभावकारी हुने उनको भनाइ छ। सडक पूर्वाधारमा भने स्थानीय सामग्री प्रयोग गर्नुपर्ने सर्तका कारण विगतमा भारतीय ठेकेदारहरूले समेत कठिनाइ भोग्नुपरेको उनले स्मरण गरे।
नेपालको आग्रहमा गत डिसेम्बरदेखि भएको वार्तापछि भारतले भारतीय मुद्रामै ऋण कारोबार गर्ने सुविधा स्वीकार गरेको वाग्लेले बताए। उनले यसलाई नेपालको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।
बैठकमा एमाले सांसद डा। पुष्पराज कँडेलले १ खर्ब ८४ अर्ब रुपैयाँको ऋण कति वर्षका लागि र कति ब्याजदरमा लिन लागिएको हो भनी प्रश्न गरेका थिए । यस्तै, नेपाली कांग्रेसका सांसदले उक्त सहयोग भारतीय मुद्रामा लिएर भारतीय मुद्रामै फिर्ता गर्नुपर्ने हो कि भनी जिज्ञासा राखेका थिए ।
नेपालले आयात भुक्तानीका लागि हरेक वर्ष डलर बेचेर भारु खरिद गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै सांसदहरूले भारुमा ऋण भुक्तानी गर्दा पर्न सक्ने प्रभावबारे पनि स्पष्ट पार्न माग गरेका थिए।ऋणको वास्तविक ब्याजदर, भुक्तानी अवधि र मुद्रा छनोट भने भारतसँग हुने प्राविधिक वार्तापछि मात्रै तय हुने अर्थमन्त्री वाग्लेले जानकारी दिए।










