राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो ।
हिजो भएको छलफलअनुसार आज पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल शुरु गरेको हो । प्रधानमन्त्री कार्यालयबाट डाटाबेस विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए ।
टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरूपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो ।










