कुमाल समुदायको पेशा लोप हुँदै



पर्वत, १८ फागुन । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ ।

सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् ।

उनीहरुले विकल्प खोजेसँगै माटाका भाँडामा कुमालले भर्ने कलात्मक बुट्टा लगायतका सिर्जनात्मक सीपसमेत लोप हुँदै गएको हो । जीजुबाजेका पालादेखि विसं २०४२÷४३ सम्म माटोका हुण्डा, घैँटो, गलौंसा, आरी, ठेकी, दियो, पाला, भुड्का लगायतका भाँडाकुडा बनाउँदै आएका कुश्मा नगरपालिका–८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमाल यतिबेला छैनन् ।

उनिहरुसँगै माटाका भाँडा बनाउने गरेका ९० वर्षका बुधे कुमाल भने हालसम्म जीवितै रहेका छन् । उनिहरुको सीप र कला नयाँ पुस्ताले जीवित राख्ने कुरामा भने शङ्का गर्ने ठाउँ उब्जिएका छन् । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेशा धान्न मुस्किल परेको छविलालका छोरा भीमबहादुरले बताए ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  २ : २८ बजे