काठमाडौं , ८ भदौ । भोलि भदौ ९ गते शनिबारबाट नदी महोत्सव तथा महाजलयात्रा’ सुरु हुने भएको छ ।नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा ललितपुरको कुपण्डोलस्थित वागमती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गर्न सकिने छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बागमती नदी संरक्षण गर्ने उद्देश्यले शनिवारबाट ‘नदी महोत्सव तथा महाजलयात्रा’ सुरुवात हुन लागेको बताए ।
उनले काठमाडौं शहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै यसबारेमा जनचेतना जगाउन महोत्सव आयोजना गर्न लागिएको बताए । बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा नदीप्रति सरोकार राख्ने अवस्था सिर्जना गराउने आलेले बताए ।उनले भने, वागमती रिभर फेस्टिभललाई एउटा मञ्चको रुपमा अगाडि बढाएका छौ । वागमतीमा ढल होईन्, पानी बगाउँनु प¥र्यो, त्यसको लागि के गर्न आवश्यक छ सरकारले ध्यान दिनुपर्छ । नदी सफा र सुन्दर बनाउन सके प्राकृतिक सम्पदाहरूको संरक्षण हुन सक्छ । हाम्रो यो एउटा प्रदर्शन हो, हाम्रो प्रदर्शन ढुङ्गा हानेर होईन, टायर बालेर होईन्, हामीले वागमतीमा गएर एउटा आवश्यक सरोकार, चासो देखाई रहेका छौ । त्यो सरकारले बुझ्नु पर्यो । ’
अध्यक्ष आलेले नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले सन् २००१ देखि हरेक वर्ष बागमती नदीमा महाजल जात्रा हुने गरेको बताए । यसको संरक्षण गर्ने हो भने भविष्यमा वागमती सबैभन्दा बढी कमाउँने नदी बन्ने विश्वास पनि आलेको छ ।














