नेपालीहरुको उद्दारका लागि नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल उड्दै



काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।

‘इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ’ पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

चार्टर विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयमार्फत भईसकेकोले आजै इन्स्योरेन्सलगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यसतर्फ जानेछ ।

इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। एक नेपाली वेपत्ता छन्।

प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार  १ : २७ बजे