काठमांडौ । इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न मङ्गलबार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धा–नुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गरेका छन् ।
इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी मानिस मारिएका छन् ।
जवाफमा इजराइली सेनाले गाजामा हमला गरेको छ । हमलामा तीन हजारभन्दा बढी बालबालिकासहित आठ हजार तीन सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्याङ्कानुसार गाजामा हमासले दुई सय ३० जनालाई बन्धक बनाएको छ । थाई विदेश मन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक छन् ।














