विराटनगर । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्दिन्छु भन्दै झन्डै ३९ लाख ठगी गर्ने अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलका स्वकीय सचिव पोखरेललाई मोरङ जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको हो।
ठगी गरी अपराधिक लाभ लिएको कसुरमा पोखरेलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
रंगेली नगरपालिका(२ का स्थायी बासिन्दा अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० रुपैयाँ ठगी गरेको आरोप छ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि सांसद पोखरेलले स्वकीय सचिव पोखरेलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए। एमबीबीएसमा नाम निकाल्दिने भनेका पोखरेलले पैसा फिर्ता दिएनन्। उनले उल्टै ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए।
आफूलाई जबर्जस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनी तमसुक बनाएपछि उनी प्रहरी कार्यालय पुगेका थिए।
९ दिनपछि हुलाकबाट पठाएको जाहेरी पनि प्रहरीले लिएन। यसपछि पोखरेलविरुद्ध बौआलालले उच्च अदालत मोरङमा जाहेरी दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गरेका थिए।
गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो।
आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो। अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरीयाले जानकारी दिए।
लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालापछि उनका स्वकीय सचिवमाथि पनि ठगीको आरोप लागेको हो।
सहकारी ठगीमा अञ्जलालाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले पुर्जी जारी गरिसकेको छ। तर कोइराला भने हालसम्म फरार छिन्। उनी मोरङको एक विद्यालयमा शिक्षिका भएपनि पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी छैनन्।














