गोरखा पुगेर पूर्वराजाले भने- मैले शान्ति चाहेको हो कोही डराउन पर्दैन



गोरखा । गोरखा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले कोही पनि डराउन पर्ने अवस्था नरहेको बताएका छन्। शनिबार गोरखास्थित गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुनेसमेत उल्लेख गरे। ‘अहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको पनि कुभलो नचिताओस्। भलो चिताओस्। केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने, ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा सुख होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ।’

उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए। ‘गोरखा आएर मलाई खुसी लाग्यो। आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने।

शनिबार बिहान १० बजे मन्दिर पुगेका पूर्वराजा शाहलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए। पूर्वराजा शाहले करिब २ घण्टा मन्दिरमा पूजा गरेका थिए।

प्रकाशित मिति : चैत्र ९, २०८१ शनिबार  ६ : ३२ बजे