काठमाडौँ । सरकारीसरह सेवासुविधा माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउको प्रयास गरेका छन्।
मन्त्रालय घेर्नका लागि भनेर माइतीघर मण्डलाबाट मन्त्रालयतर्फ अघि बढेका चिकित्सकहरूलाई प्रहरीले रोकेको हो।
सेतो एप्रोनमा आन्दोलनमा होमिएका चिकित्सकले आफूहरुले निर्णायक आन्दोलन गर्न बताउँदै आएका छन्। नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा होमिन आह्वान गरेको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले सरकारले चिकित्सककहरूलाई ललिपप मात्र देखाउने गरेको आरोप लगाए।
‘हामीले आन्दोलनका कार्यक्रम बारेमा स्वास्थ्य मन्त्रीका सचिवालयमा जानकारी दिएका छौँ। पहिला हामी ३० जना छलफलमा जान्छौँ,’ उनले भने, ‘नभए निषेधित क्षेत्र तोडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिन जान्छौं।’
आवासीय चिकित्सक भने मेडिकल सञ्चालक तथा सरकारविरुद्ध चर्का नारा लगाइरहेका छन्।









