सरकारसँग वार्ताका लागि सिंहदरवार पुगे शिक्षक



काठमाडौँ– आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि सरकारसँग वार्ताका लागि शिक्षा मन्त्रालय पुगेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि उनीहरू सिंहदरवार पुगेका हुन्।

मन्त्रालयको तर्फबाट शिक्षा सचिव दीपक काफ्लेले महासंघलाई वार्तामा बोलाएका हुन्। सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्नेछन्।

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए।मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए। संसद भवन परिसमा पत्रकारसँग उनले कानुन र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका छन्।

‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ। शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ उनले भने, ‘ऐन कानुनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ।’

यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो।

शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन्।

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  ४ : ११ बजे