काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गराएका हुन्।
मुद्दामा मंगलबारका लागि पेसी तोकिएको छ।
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेका थिए।
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ,’ उनको टिप्पणी थियो, ‘कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’









