पाकिस्तानी सैन्य टोलीलाई नेपाल भ्रमण गराएको भन्दै एनपी साउदले उठाए प्रश्न



काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानी सैन्य प्रतिनिधिमण्डलको नेपाल भ्रमणका विषयमा सदनमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा नेता साउदले भारत र पाकिस्तानबीच गम्भीर तनाव भएको समयमा पाकिस्तानी सैन्य भ्रमण स्थगन गर्नु पर्ने उनको भनाइ आएको हो।

‘पहलगाम आतंककारी घटनाले छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न गराएको छ। यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भइसकेको छ,’ साउदले भने, ‘तर, छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्थानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ।’

भ्रमण पूर्वनिर्धारित नै भए पनि परिस्थिति आकलन गरेर स्थगित गर्नु पर्ने बताए। ‘वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ भ्रमण स्थगित गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने थियो,’ साउदले भने।

यही वैशाख ९ गते भारतको जम्मुकस्मिरस्थित हिंसात्मक आक्रमण गर्दा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो।

नेपाली सेनाले वैशाख २१ गते विज्ञप्ति जारी गरी भ्रमणबारे औपचारिक जानकारी गराएको थियो। पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीमा तालिमरत शिक्षार्थीको १२ सदस्यीय उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणमा आएको जानकारी गराइसकेको छ।

उक्त टोलीले नेपालका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने जानकारी नेपाली सेनाले गराएको छ। तर, मित्रराष्ट्रको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल नेपालमै रहेका बेला सदनमा भने त्यही विषयमा प्रश्न उठेको हो।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  १ : ०५ बजे