काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानूनहरु परिमार्जन गरिएको भन्दै अव लगानीको आवश्यकता रहेको औंल्याएका हुन् ।
उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठुलो मात्रामा लगानीको अवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टी गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धि विधेयक संसद्मा पेस गरेको छ ।’
उनले वैदेशिक सहायता परिचालन २०८२ जारी गरेको भन्दै लगानिको वातावरण सुधारका लागि काम भइरहेको बताए ।
‘सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशीक सहायता परिचालन २०८२ जारी गरिएको छ । लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानूनहरु सुधार तथा परिमार्जन गरिएको छ,’ उनले भने ।
उनले जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुको पहँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।