४ करोडभन्दा बढी भन्सार तिरेर स्थलमार्गबाट हेलिकोप्टर आयात



काठमाडौँ । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकोप्टर आयात गर्न लागिएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकोप्टर जाँचपासका लागि आइपुगेको जानकारी दिएका छन्।

‘हेलिकोप्टर आइपुगेको छ । तर, अहिले हामीले भन्सार जाँच पास गरिसकेका छैनौँ। आवश्यक सबै प्रक्रिया पूरा हुन समय लाग्छ, प्रक्रिया पूरा भएसँगै हामी पास गर्छौँ,’ उनले भने।

यता तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापाले माउन्टेन हेलिकोप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकोप्टर ल्याएको बताएका छन्।

‘बाइ रोड कन्टेनरमा ल्याइएको हो। हिजो हाम्रो सिमानामा छिरेको हो,’ उनले भने।

भन्सार प्रक्रिया पूरा गरेपछि एक–दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको थापाले जानकारी दिए। उक्त हेलिकोप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने बताइएको छ।

‘अब ठ्याक्कै कति मूल्य त मैले पनि त्यो प्रज्ञापन पत्र हेरेको छैन, तर करिब चार करोड माथि नै हुन्छ भन्ने सुनेको छु,’ उनले भने।

आयातकर्ता कम्पनी माउन्टेन हेलिकोप्टर्सका रामचन्द्र भुसालले बिहीबार (आजै) हेलिकोप्टरको भन्सार जाँचपास गरिने बताएका छन्।

‘सम्भवतः नेपालमा पहिलो पटक स्थलमार्गबाट हेलिकोप्टर आयात भएको हो। यसको लागि तिर्ने भन्सारबारे छिट्टै जानकारी गराउँछौँ,’ उनले भने ।

भुसालका अनुसार उक्त हेलिकोप्टर एयर बस कम्पनीको हो। यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकोप्टर भएको बताइएको छ। चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको बताइएको छ।

प्रकाशित मिति : असार १९, २०८२ बिहीबार  १ : २० बजे