एक करोड लागतमा वडा कार्यालय भवन निर्माण



म्याग्दी । रघुगंगा गाउँपालिका-१ बेगमा एक करोड पाँच लाख रूपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ।

दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो। रघुगंगा गाउँपालिका(१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाख रूपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिए।

‘आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख रूपैयाँ र २०८१/०८२ मा ५५ लाख रूपैयाँ बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको होु, उनले भने,’ुचालु आवमा विनियोजन भएको बजेटबाट तला थप गरेर सभाहल बनाउने योजना छ। नयाँ आर्थिकदेखि भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ’

साबिक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण भएको वडाध्यक्ष फगामीले बताए।

आठवटा वडा रहेको रघुगंगाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो। वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमंगलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ।

मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ। रासस

प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार  १२ : ५१ बजे