समावेशी शिक्षादेखि एआइसम्मः दक्षिण एसियाली अंग्रेजी शिक्षकका लागि तीन दिने निःशुल्क अनलाइन सम्मेलन



काठमाडौं । ब्रिटिस काउन्सिलले दक्षिण एसियाली अंग्रेजी शिक्षकहरूका लागि आगामी साउन १ देखि ३ गते (१७–१९ जुलाई २०२५) सम्म तीन दिने निःशुल्क अनलाइन सम्मेलन आयोजना गर्ने भएको छ।

“South Asia Teaching English Online Conference 2025” नाम दिइएको उक्त सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रीसका विशेषज्ञहरूले सहभागिता जनाउनेछन्।

उक्त सम्मेलनमा नेपालभरका प्राथमिक र माध्यमिक तहका अंग्रेजी शिक्षकहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ। कार्यक्रम अंग्रेजी भाषा शिक्षणमा समावेशी अभ्यास, २१औं शताब्दीका सीपको एकीकरण, तथा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) को उपयोग जस्ता नवीनतम अवधारणामाथि केन्द्रित रहनेछ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ३ वटा प्यानल डिस्कसनसहित ९ वटा विशेष सत्रहरू सञ्चालन हुनेछन्। शिक्षकहरूले यी सत्रमार्फत समावेशी कक्षा सञ्चालन गर्ने रणनीति, विश्लेषणात्मक सोच र सहकार्यको महत्व, तथा डिजिटल उपकरणको उपयोगद्वारा शिक्षणमा गुणस्तर अभिवृद्धि गर्ने तरिका सिक्ने अवसर पाउनेछन्।

ब्रिटिस काउन्सिल दक्षिण एसियाका अंग्रेजी र विद्यालय शिक्षासम्बन्धी निर्देशक सराह रोजरसन ले भनिन्, “हामी अहिले प्रविधि र विविधताले प्रभावित शिक्षण परिदृश्यमा प्रवेश गरेका छौं। हरेक शिक्षकले सिकाइलाई समावेशी, अर्थपूर्ण र भविष्यमुखी बनाउन स्रोतसाधनसहित सक्षम हुनुपर्छ।”

सम्मेलनमा सहभागी हुने सबै शिक्षकले इ-सर्टिफिकेट समेत प्राप्त गर्नेछन्।ब्रिटिस काउन्सिलले शैक्षिक अवसर र सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै विश्वभरका नागरिकबीच विश्वास निर्माण गर्दै आएको छ।

प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार  ११ : ५५ बजे