एक वर्षमा धानचामलका लागि बाहिरियो ४० अर्ब रुपैयाँ



काठमाडौँ । देशबाट एक वर्षमा धानचामलका लागि ४० अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा धानचामलका लागि ठूलो रकम बाहिरिएको हो।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको २०८०/८१ तुलनामा आव २०८१/८२ करिब दोब्बर परिमाणले आयात बढेको छ। आव २०८१/८२ मा ४० अर्ब १८ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ। आव २०८०/८१ मा २२ अर्ब २२ करोड रुपैयाँको आयात भएको थियो।

विभागको तथ्याङ्क अनुसार गत आवमा सबैभन्दा धेरै २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपैयाँको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ। अघिल्लो आवमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार रुपैयाँको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो ।

यस्तै गत आवमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपैयाँको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको थियो। गत वर्ष त्यति नै अवधिमा ९ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशमा गत आवमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। मन्त्रालयका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको आवश्यक पर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ।

प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार  ११ : ३८ बजे