भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै



काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।

नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित मिस्री यही कात्तिक १८ र १९ गते काठमाडौंमा रहनुहुने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलाअन्तर्गत हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र विदेश सचिव मिश्रीबीचको द्विपक्षीय वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुनेछ ।

काठमाडौं बसाईंका क्रममा मिश्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ । काठमाडौं र नयाँदिल्ली प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीमा जुटिरहेका बेला हुन लागेको मिस्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री शाह मंसिर दोस्रो साताको उत्तरार्द्धमा भारत जाने अपेक्षा गरिएको छ । भ्रमणको मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । तर, भ्रमणको तयारी र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न दुवै देशले कूटनीतिक संवाद तीव्र बनाएका छन् ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  ९ : ३३ बजे