दमौली( तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रुख कटानका लागि प्रक्रिया सुरु गरिएको छ।
यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ। डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रमा रहेका रुखको गणना, छपान तथा कटानसम्बन्धी प्रक्रियाबारे छलफल गरिएको आयोजनाले जनाएको छ।
बैठकमा रुख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा प्रक्रियाबारे सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई जानकारी गराइएको थियो। उक्त कार्यमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रभित्र पर्ने रुख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरु गरिएको जानकारी दिए। रुख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रिया अघि बढाउँदा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई महत्त्व दिइएको उनले बताए।
जलाशय क्षेत्रभित्र पर्ने वन क्षेत्रको व्यवस्थापन आयोजनाको निर्माण प्रक्रियासँग जोडिएको विषय भएकाले प्रचलित वनसम्बन्धी कानूनी व्यवस्था र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाउनुपर्ने भण्डारीले बताए।
रुख गणना, कटान तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समूहले कसरी सहभागिता जनाउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो।
बैठकमा छलफल भएका विषयलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। रासस










